शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलनमा जुट्दै

बिहिबार, माघ १५ २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र तयार गर्न सुझाव सङ्कलन गरिरहेको छ ।

आसन्न फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले निर्वाचन घोषणा पत्र लेखनका लागि पार्टी सङ्गठन, जनवर्गीय सङ्गठनलगायत विभिन्न क्षेत्रसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार हाल प्राप्त भएका सुझावहरू समेटेर घोषणा पत्र लेखनको काम अघि बढाइएको छ । “जनवर्गीय सङ्गठनलगायत अधिकांश क्षेत्रबाट आएका सुझावलाई समेट्दै घोषणा पत्र तयार गरिरहेका छौँ,” उनले भने, “अब केही छुटेका क्षेत्रबाट थप सुझाव सङ्कलन गरी अन्तिम मस्यौदा तयार गर्नेछौँ ।”

प्रचार संयोजक शाहीले सबै क्षेत्रबाट दुई–तीन चरणमा सुझाव सङ्कलन भइसकेको जानकारी दिए।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल तथा नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।