शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्वास्थ्य बिमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बिमा बोर्डको सार्वजनिक अपिल

बुधबार, माघ १४ २०८२

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बिमा बोर्डले सेवाग्राही तथा सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न सार्वजनिक अपिल गरेको छ ।

मंगलबार जारी गरिएको अपिलमा बोर्डले ‘स्वास्थ्य बिमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित सेवाग्राहीलाई स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न, बिमा सेवाको दुरुपयोग नगर्न तथा अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दबाब नदिन आग्रह गरेको छ ।

त्यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई औचित्यका आधारमा मात्र चेकजाँच, प्रयोगशाला परीक्षण तथा उपचार गर्न तथा प्रचलित कानुन, स्वास्थ्य बिमा बोर्डद्वारा जारी निर्देशिका, कार्यविधि र परिपत्रको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने खर्चको जोखिमलाई अग्रिम रूपमा व्यवस्थापन गर्दै नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सामाजिक स्वास्थ्य सुरक्षाको प्रमुख कार्यक्रम हो ।

सीमित स्रोतसाधन र केही संरचनागत चुनौतीहरूका बाबजुद हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बिमामार्फत सेवा लिइरहेका छन् । यसबाट दैनिक औसत रु. आठ करोड बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डले जनाएको छ ।

हाल केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा देखिएको असहजता वा अस्थायी सेवा अवरोध समाधान गर्न बोर्डले निरन्तर पहल र छलफल गरिरहेको जानकारी दिँदै, स्वास्थ्य बिमा कार्यक्रमलाई अझ सशक्त, व्यवस्थित, प्रभावकारी तथा नागरिकमैत्री बनाउने प्रतिबद्धता बोर्डले व्यक्त गरेको छ ।