काठमाडौँ । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै छ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा, साथै हवाई र सडक यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सरोकारवाला सबैलाई अनुरोध गरेको छ।