बैतडी । बैतडी जिल्लामा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।
हिमपातपछि गहुँलगायत हिउँदे बाली सप्रिने विश्वास बढेकाले किसानहरू उत्साहित भएका छन् । स्थानीय राजबहादुर टेरका अनुसार हिमपातले बालीलाई फाइदा पुर्याउने अपेक्षा गरिएको छ । यद्यपि, अत्यधिक चिसो बढेपछि दैनिक जनजीवन भने प्रभावित बनेको छ ।
यसैबीच, ढोरपाटनबाट रासस प्रतिनिधिले जनाएअनुसार बागलुङ जिल्लाको ढोरपाटनसहित उच्च पहाडी क्षेत्रमा पनि गए रातिदेखि लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रहरू सेताम्मे देखिएका छन् ।
हिमपातका कारण धारामा पानी जम्नुका साथै निरन्तर हिउँ परिरहेकाले स्थानीयवासीलाई हिँडडुल गर्न कठिनाइ भएको छ । ढोरपाटनसँगै निसीखोला गाउँपालिकाका रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर क्षेत्रमा पनि हिमपात भएको छ ।
हिमपातसँगै हिउँदे बाली राम्रो हुने विश्वास स्थानीय किसानहरूले व्यक्त गरेका छन् ।