जुम्ला । शनिबार परेको भारी हिमपातका कारण अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्ड पुनः सञ्चालनमा आएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले क्षेत्रमा बाक्लो हिमपात भएपछि सडक दुई दिनदेखि बन्द रहेको थियो।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार कार्यालयबाट डोजर परिचालन गरी भुलभुले क्षेत्रमा जमेको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।
सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी बजारतर्फ जाने दैनिक उपभोग्य सामग्री तथा विकास–निर्माणका सामग्री बोकेका सवारीसाधनहरू बीच बाटोमै रोकिएका थिए। हिउँ हटाइएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए।