शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गैँडाको आक्रमणबाट युवाको मृत्यु

मंगलबार, माघ १३ २०८२

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक युवकको ज्यान गएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार घाँसदाउरा गर्न घर नजिकैको मरड खोलातर्फ गएका भट्टराईमाथि गैँडाले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको उनले जानकारी दिए।

यसैबीच चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार ती दुवै घटनामा गैँडाको आक्रमणकै कारण ज्यान गएको हो।