काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सोमबार समानुपातिकतर्फका दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ पूरा गरिएको हो।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको मतपत्र छपाइ सकिएसँगै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको जानकारी दिए। उनका अनुसार सोमबारदेखि नै प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र छपाइको काम अघि बढाइएको छ।
यसअघि केन्द्रले १० लाख ९८ हजार २०० प्रति नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई बुझाइसकेको थियो। ती नमुना मतपत्रहरू मतदाता सचेतना तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेका छन्।