तनहुँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश विकासका लागि श्रम अनिवार्य रहेको बताएका छन् ।
आज तनहुँको आँबुखैरेनीमा स्थानीयसँग भएको भेटघाटमा अध्यक्ष साम्पाङले गफ मात्रले देश नबन्ने स्पष्ट पार्दै, श्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए उनले भने, “काम नगरेर देश नबनेको हो। काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति छ। श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ।”
साम्पाङले राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित रहेको आरोप लगाउँदै आफ्नो पार्टी मात्र श्रमलाई व्यवहारमा उतार्ने दाबी गरे। उनका अनुसार, “काम नगरेर देश बनेको छैन। हामी कहाँ काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार छ। यो सोच बदल्न सकेनौँ भने देश कहिल्यै अगाडि बढ्दैन।”
उनले देशका सबै नागरिक उत्पादनशील काममा जोडिन नसक्दा बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान नहुने र विशेष गरी युवाहरू श्रमबाट टाढा रहँदा ठूलो जनशक्ति विदेशिन बाध्य हुने बताएका छन्।
अध्यक्ष साम्पाङले विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने उल्लेख गर्दै, आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिए। “विदेशी आएर हाम्रो देश बनाई दिँदैनन्। आफ्नो देश आफैँले बनाउने हो। श्रमलाई मूल आधार मानेर हामी अघि बढेका छौँ,” उनले भने।