मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ।
नेपाल नमुना माध्यमिक विद्यालय, केउरेनीकी कक्षा नर्सरीमा अध्ययनरत बालिका सुश्मा कुमारी पासवान बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्। प्रहरीले जनाएको छ, बसको नम्बर लु १ क ३८१४ हो।
प्रहरीका अनुसार विद्यालय हाताभित्र बस घुमाउने क्रममा दुर्घटना भएको हो। बालिका बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भएकी हुन् र हाल देवचुली–१४ छत्तिसघरे बस्दै आएकी थिइन्। घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिएका छन्।