पोलिटिक्समा लामो समय चलेको ‘ओलीटिक्स’ले अस्थिरताको चरम विन्दुमा धकेल्यो, देशको भविष्य अन्धकारको बाटोमा लाग्यो।
हिजो सत्ता समीकरणमा रहँदा निर्दोष भनी आफैंले सदनमा प्रमाण पत्र दिएको रवि लामिछानेलाई आजका दिनमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्छन्,‘उसलाई छुट दियो भने महान्यायाधीवक्ताको कार्यालयले तिर्छ पैसा?’
केही सही र के गलत भन्ने चिज ढिटका साथ होइन आफ्नो अनुकुलता, सत्ता अनुकुलता र प्रतिकुलताका आधारमा गर्ने ओलीको बानी छ। यसलाई ओलीको पोलिटिक्स होइन, ओलीटिक्स भन्न चहान्छ टिप्पणीकार।
हिजो सत्ता गल्र्याम्म ढलेपछि माओवादीसहितसँग गठबन्धन गरेका शेरबहादुर देउवा ओलीका निम्ति अचेल ‘कठैबरा बृद्ध भएका नेतालाई हेपे’ भन्छन्। प्रचण्डसहितसँग मिलेर ०७७ पछि देउवा प्रधानमन्त्री बन्दा ओली के भन्थे? त्यति पर नजाऔं– यसैपाली सरकार ढल्नुअघि गठबन्धनमा रहँदा देउवाको गीत गाउँथे भने कांग्रेस प्रतिपक्षमा रहँदा कतिसम्म होच्याएर बोल्थे?
अचेल ओली अझ खरो सुनिन्छन्। जेनजी पुस्ताको विद्रोहपछि लुकेर एउटा चिठि लेखेर प्यारा नानीबाबु भनेर भावुकता समेट्ने प्रयत्न गरेका थिए। तर, भदौ २२ गते एमाले विधान महाधिवेशनका बेला जेनजीको प्रदर्शन हुने विषयमा उनी के भनिरहेका थिए, २३ गते के गरे र अहिले के भनिरहेका छन्? त्यो पनि हेक्का र सम्झना राखेर आगामी चुनावमा मतदान गर्नुपर्नेछ।
ओलीसँगै मिलेर राउन्डिङमा आलोपालो सत्तामा बसेका, देशको अभिभावक संस्थालाई बाहिर स्वतन्त्र हुँदा पनि गाली गर्न नछाडेका यीनीहरु अहिले आफू महान् ‘राष्ट्रवादी’ र अरुलाई विदेशीको इशारामा चलेको भनेर हेपिरहेका छन्।
महाधिवेशनमा पार्टीका कार्यकर्तालाई जसरी हली ठान्ने ओलीको प्रवृत्ति छ, उनी नेपाली जनतालाई मूर्ख बुझिरहेका छन्, ठानिरहेका छन्। र यसमा साथ दिने देउवालगायतका टोली कम दोषी छैनन्। त्यसको सजाय राजनीतिक रुपमा पाइरहेका छन्।
यीनिहरुले विदेशीको इशारामा राजसंस्था फ्याँके, उदाउँदो पुस्ताले खोजेको नवीन भविष्य फ्याँके। अब भएन यहि पुस्ताले भविष्यको रेखाङ्कन गर्छु, अब त अति भयो भन्दा २५ सय जनामाथि त ताकी ताकी गोली हान्न आदेश दिए। ७६ जनाको बली चढाए। अनि, अहिले आशाका केन्द्रहरुलाई कुनै म्यादी विश्लेषकको भाषा सापट मागेर भनिरहेका छन्– यी लुसिफरहरू हुन्।
यदि यीनिहरुको राज्य दोहन, भ्रष्टाचार र आजीवन सत्तामा रहेर मनपरी गर्न पाउनुपर्ने, देश र जनता दुखी हुँदा जदौ खानुपर्ने स्वार्थको पर्खाल भत्काउने नेतृत्व हुँदा लुसिफर बनिन्छ भने लुसिफर बन्न तयार हुनुपर्छ।
यीनले गणतन्त्रका नाममा देशको अभिभावकत्व र संरक्षणकर्ता संस्था राजसंस्थालाई छल र कपटपूर्वक फ्याँकेर भ्रष्टाचारको आहलिला चलाए, तथ्याङ्क नै केलाउने हो भने हाम्रो पुस्ता यहि गणतन्त्र आएको भनी थपडी मारेका बर्षदेखि नै पलायन हुनेको ग्राफ कहालीलाग्दो छ।
भोग्नेलाई थाहा छ, यीनीहरुको सत्तारोहणले आजको अवस्था आएको हो। वर्तमानलाई विश्लेषण गरिरहँदा बिगत ६२ यता २० बर्षमा यीनले कस्ता तमासा देखाए, भ्रष्टाचारको आहालमा कति पौडी खेलेका रहेछन्? अख्तियारका ढड्डामा पनि भेटिन्छन्।
अब युग बदल्नु छ। यो मौका आइसकेको छ। चुनाव नजिक छ। र, त्यहि चुनावले यीनको आजीवन सत्ता मोह, स्वार्थलाई चिहानघारीतिर फ्याँक्न सक्ने हरेक जनतामा शक्ति छ।
फागुन २१ को मध्यावधि निर्वाचन महासंग्राम हो। यसले युग बदल्ने ल्याकत राख्छ।
यो निर्वाचन यथास्थितिमा ८० पार भए पनि अझ अस्थिरता मच्चाउने, भ्रष्टाचारका काण्ड लुकाउने, आफू चिहानमा नपुगेसम्म राज्यको शक्तिमा रहेर ३५–४० बर्षसम्म कुकृत्यको पहाड खडा गर्नेहरूलाई ठाउँको ठाउँ पराजित गर्नुपर्ने बेला हो।
पपुलिस्ट नै भनुन्, अहिलेसम्म विदेशीको गुलामी गरेर परिवर्तनको आवाज बुलन्द बनाउनेहरूलाई उदाउन नदिन ‘विदेशीको चाल’ भनी उपनाम दिने काम भैरहेका छन्। तर यस पटक पनि यीनलाई ठाउँको ठाउँ पराजित गर्न सकिएन भने जेनजीका त ज्यान गए नै, जेन अल्फा र जेनबिटाको भविष्य अँध्यारो सुरुङमा हुनेछ भने अर्को पुस्तै नजन्मिन सक्छ।
यो देशमा लोकतन्त्र ल्याएको योगदानको सम्मान पनि होला। तर त्यो सम्मानका नाममा आजीवन देश लुट्ने ठेकेदारी दिनुपर्छ भन्ने छैन। पाउनुपर्छ भन्ने पनि छैन। त्यसवापत दण्डित हुनुपर्छ भन्ने संस्कारको विकास गर्नुछ, नेपाली जनताले गर्नेछन्। सबैको मन–मनमा छ– गरिन्छ भन्ने।
अब ओली र देउवाको शासन शैलीबाट मुक्ति पाउनुछ। उन्मुक्त भएर युगिन् लोकतन्त्र र विकासको बाटो समात्नुपर्नेछ।
ओली र देउवा प्रवृत्तिबाट मुक्ति पाउनु भनेको केवल व्यक्ति हटाउनु मात्र होइन, बरु वर्षौँदेखि जकडिएको दलीय सिन्डिकेट र अलोकतान्त्रिक राजनीतिक संस्कृतिलाई परिवर्तन गर्नु हो।
यसका लागि के गर्नुपर्छ?
पहिलो, मतदानमा परिवर्तन। लोकतन्त्रमा नेतृत्व परिवर्तनको सबैभन्दा बलियो हतियार ‘मतदान’ हो। आगामी निर्वाचनमा हाम्रो मान्छेभन्दा पनि राम्रो मान्छे छान्ने चेतना फैलाउनु आवश्यक छ। पुराना दलभित्रै रहेका इमानदार युवा पुस्तालाई अघि बढाउने वा वैकल्पिक राजनीतिक शक्तिहरूलाई परीक्षण गर्ने आँट मतदाताले देखाउनुपर्छ।
त्यसका लागि कुन दल तयार छ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। विकासको मोडल कसले प्रारम्भिक चरणमा नै देखाएको छ? काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले। उनी कोसँग प्रतिस्पर्धा गर्दैछन्? उनै केपी शर्मा ओलीसँग, झापा–५ नम्बर क्षेत्रमा।
दोस्रो, दलभित्र आन्तरिक लोकतन्त्रको सुदृढीकरण। नेपाली कांग्रेस र एमाले जस्ता ठूला दलहरूमा ‘पार्टी कब्जा’ गर्ने प्रवृत्ति छ। एमाले त ओलीको कब्जामा छ। कांग्रेसले नयाँ स्वास फेर्न पाएको छ, देउवाबाट।
जबसम्म दलहरूभित्रै ७० वर्षे उमेर हद वा दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने वैधानिक व्यवस्था लागू हुँदैन, तबसम्म नेतृत्व हस्तान्तरण कठिन अझै बन्नेछ। कार्यकर्ताहरूले आफ्नो शीर्ष नेताको अन्धभक्त हुनुको साटो पार्टीभित्रै विद्रोही र रचनात्मक भूमिका खेल्न जरुरी छ। जसरी कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्माहरुले उदाहरण पेश गरे।
तेस्रो, मुद्दामा आधारित राजनीति। अहिलेको राजनीति सत्ता व्यवस्थापन मा मात्र केन्द्रित छ। ओली र देउवाको शासनबाट मुक्ति पाउन जनताले शिक्षा, स्वास्थ्य, र रोजगारीका एजेन्डामा बहस सुरु गर्नुपर्छ। जब जनताले गफ र आश्वासनको सट्टा ठोस नतिजा माग्न थाल्छन्, तब पुराना नेताहरूलाई डेलिभरी दिन दबाब पर्छ वा उनीहरू स्वतः किनारा लाग्छन्। अब लगाउन आवश्यक छ। यहि पल्ट लगाउनैपर्छ।
चौथो, नागरिक समाज र बौद्धिक हस्तक्षेप। पछिल्लो समय नेपालको नागरिक समाज सुस्ताएको देखिन्छ। स्वतन्त्र बुद्धिजीवी, युवा उद्यमी र पेशाकर्मीहरूले राजनीतिको दुर्गन्धलाई टाढैबाट हेर्नुको साटो नीति निर्माणमा हस्तक्षेप गर्नुपर्छ। सडकदेखि सदनसम्म रचनात्मक दबाब सिर्जना गरेर मात्र सत्तामा रहेकाहरूको स्वेच्छाचारिता रोक्न सकिन्छ।
अब सदनमा जान नै रोक्ने हो, पुगेकालाई खबरदारी गर्नुपर्ने छ। नयाँलाई लग्ने हो, लगेपछि खबरदारी गर्ने हो।
र, अन्तिम भनेको वैकल्पिक शक्ति र नयाँ एजेन्डा स्थापित गर्नु हो। पुराना नेताहरू असफल भए भन्दैमा विकल्पहीनताको स्थिति रहनु हुँदैन। नयाँ आउने शक्तिहरूले पनि केवल विरोधमा मात्र समय खेर नफाली, आफूसँग देश चलाउने स्पष्ट ‘ब्लुप्रिन्ट’ छ भन्ने प्रमाणित गर्नुपर्छ।
त्यो ब्लुप्रिन्ट लिएर बालेन झापामा जाँदैछन्। यस्तै रास्वपाका सबै उम्मेदवार प्रत्येक निर्वाचन क्षेत्रमा पुग्दैछन्। त्यसैले राजनीतिमा परिवर्तन गर्नका लागि सानो ठाउँ, सानो क्षेत्रमा बसेर विश्वमा चलेका बहसका आधारमा होइन, अब त अति भयो देशले हाँस्न पाउनुपर्छ भन्ने चेतका साथ मतदान गरे देशले ओलिटिक्सबाट मुक्तिको यात्रा तय गर्नेछ। यो केपी शर्मा ओली व्यक्तिको विषय होइन, यो उनको राजनीतिक प्रवृत्तिको आलोचनात्मक सुझाव हो।