मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सशस्त्र प्रहरी बलको रजत जयन्ती

सोमबार, माघ १२ २०८२

नेपालको सुरक्षा संयन्त्रमा एक विशिष्ट पहिचान बनाएको सशस्त्र प्रहरी बल स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) मा प्रवेश गरेको छ।

वि.सं. २०५७ सालमा मुलुकको असहज आन्तरिक सुरक्षा परिस्थितिको उपजका रूपमा जन्मिएको यो संगठनले अढाई दशकको यात्रामा अनेकन् उतारचढाव झेल्दै आफूलाई एक भरपर्दो सुरक्षा शक्तिका रूपमा स्थापित गर्न सफल भएको छ।

सशस्त्र प्रहरीको स्थापना तत्कालीन सशस्त्र द्वन्द्वको चुनौतीपूर्ण समयमा भएको थियो। सेना र जनपद प्रहरीको कार्यक्षेत्रबीचको ‘ग्याप’ भर्न र आन्तरिक सुरक्षालाई सुदृढ बनाउन यसको आवश्यकता महसुस गरिएको हो। द्वन्द्व व्यवस्थापनदेखि शान्ति प्रक्रियाको सफल कार्यान्वयनसम्म सशस्त्र प्रहरीको भूमिका अतुलनीय रह्यो। आज यो संगठन केवल द्वन्द्व व्यवस्थापनमा सीमित नभई बहुआयामिक जिम्मेवारीमा सक्रिय छ।

बीओपीहरूको संख्या विस्तार गर्दै सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी अहिले अग्रपंक्तिमा छ। भूकम्प, बाढी, पहिरो र कोभिड–१९ जस्ता महामारीमा यस संगठनले प्रदर्शन गरेको व्यावसायिकता र उद्धार कार्यले नागरिकको मन जित्न सफल भएको छ। मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेका उद्योगधन्दा र महत्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षामा यसको उपस्थिति प्रभावकारी देखिएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा खटिएर नेपालको प्रतिष्ठा बढाउन सशस्त्र प्रहरीले महत्वपूर्ण योगदान पु¥याएको छ।

रजत जयन्ती मनाइरहँदा संगठनभित्र केही सुधारका पाटाहरू पनि उत्तिकै महत्वपूर्ण छन्। सीमित स्रोत–साधनका बाबजुद उच्च मनोबलका साथ काम गरिरहेका सुरक्षाकर्मीहरूको वृत्ति–विकास र रासन–भत्ताका सवालमा सरकारले विशेष ध्यान दिनु जरुरी छ। सीमा सुरक्षालाई थप प्रविधिमैत्री बनाउन र ‘बोर्डर आउट पोस्ट’ हरूको भौतिक अवस्था सुधार गर्न ढिलाइ गर्नु हुँदैन। संगठनभित्रको सरुवा–बढुवालाई थप पारदर्शी र न्यायोचित बनाउँदै राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न सके मात्र यसको गरिमा अझ चुलिनेछ। २५ वर्षको यो परिपक्वताले सशस्त्र प्रहरीलाई ’देशको पहरेदार र जनताको भरोसा’ का रूपमा अझै निखार्ने अपेक्षा गर्न सकिन्छ।