बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रामकुमारी झाँक्रीको संसदीय यात्रा राष्ट्रिय सभातर्फ

एमाले भित्रिएको पहिलो सफलता

सोमबार, माघ १२ २०८२

काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीको संसदीय राजनीतिक यात्रा राष्ट्रिय सभातर्फ उन्मुख भएको छ ।

आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा झाँक्री ६ हजार ३०३ मतसहित विजयी भएकी हुन् ।

एमाले विभाजन, नेकपा एकीकृत समाजवादी गठन, त्यसको महाधिवेशनमा पराजय र पुनः एमाले फर्किनेसम्मको राजनीतिक उतारचढावपछि झाँक्रीको संसदीय यात्रा अब राष्ट्रिय सभाबाट अघि बढ्ने भएको हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएकी झाँक्री राजनीतिक बहस र वैचारिक स्पष्टताका लागि परिचित नेतृ हुन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की अध्यक्ष हुँदै मूलधारको राजनीतिमा प्रवेश गरेकी झाँक्री समानुपातिक सांसद र पार्टी विभाजनपछि शहरी विकास मन्त्रीसमेत बनेकी थिइन् । तर, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी–२ बाट एमाले नेता तथा हालका उपाध्यक्ष गोकर्ण विष्टसँग पराजित भएपछि उनी प्रत्यक्ष संसदीय राजनीतिबाट बाहिरिएकी थिइन् ।

हालै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित झाँक्रीले गृहजिल्ला गुल्मीबाटै प्रत्यक्ष चुनाव लड्ने इच्छा व्यक्त गरेकी थिइन् । तर, पार्टीले उपाध्यक्ष गोकर्ण विष्टलाई नै उम्मेदवार बनाएपछि झाँक्रीलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो ।

राजनीतिक यात्रामा फर्केर हेर्दा, झाँक्री २०५४ सालको एमाले विभाजनपछि नेकपा मालेमा लागेकी थिइन् । २०५८ सालमा वामदेव गौतमसँगै एमाले फर्किएकी उनी राजाको निरंकुश शासनविरुद्धको आन्दोलनमा सक्रिय रहिन् । २०६२/०६३ सालको जनआन्दोलनमा उनी विद्यार्थी नेताको हैसियतमा अग्रमोर्चामा उभिएकी थिइन् ।

स्पष्ट वक्ता, प्रगतिशील सोच र आलोचनात्मक धारणा राख्ने नेतृका रूपमा परिचित झाँक्रीको संसदीय यात्रा राष्ट्रिय सभाबाट कसरी अघि बढ्छ भन्ने चासो अहिले राजनीतिक वृत्तमा बढेको छ ।

झाँक्रीलाई एमाले भित्रिएको पहिलो सफलता

विद्यार्थी राजनीतिबाटै लोकप्रिय उनी एमाले विभाजन पछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय रहँदै आएकी नेतृ झाँक्रीलाई एमाले भित्रिएको पहिलो ठोस सफलता प्राप्त भएको छ । एमाले प्रवेश पछि केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।

पुन एमाले प्रवेशपछि झाँक्रीले पार्टीभित्र आफ्नो राजनीतिक हैसियत बलियो बनाउँदै गएकी छन् । हालै उनलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी प्रदान गरिनु नै उनको पहिलो उपलब्धिका रूपमा हेरिएको छ ।

एमाले नेतृत्वले झाँक्रीको अनुभव, संगठन क्षमता र सार्वजनिक छविलाई ध्यानमा राख्दै जिम्मेवारी दिएको बताइएको छ । झाँक्रीले पार्टीभित्र युवा, महिला तथा प्रगतिशील धारलाई सशक्त बनाउने भूमिकामा सक्रियता देखाउन थालेकी छन् । उनका अभिव्यक्ति र गतिविधिले एमालेको संगठन विस्तारमा सकारात्मक सन्देश गएको पार्टी नेताहरूको भनाइ छ ।

एमाले प्रवेशपछि झाँक्रीले विगतका राजनीतिक अनुभवलाई आत्मसात् गर्दै पार्टी नीति र सिद्धान्तअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । उनले एमालेभित्र रहेर लोकतन्त्र, सुशासन र विकासका एजेन्डालाई प्राथमिकतामा राख्ने बताउँदै आएकी छन् ।

झाँक्रीको यो सफलता एमालेभित्र नयाँ ऊर्जा र बहस सिर्जना गर्ने संकेत हो । पार्टी नेतृत्वले पनि उनको भूमिकालाई भविष्यमा अझ प्रभावकारी बनाउने अपेक्षा गरेको छ । यसले एमालेभित्र समावेशी राजनीति र नेतृत्व विकासतर्फ सकारात्मक संकेत दिएको छ ।