काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा आज साँझ ५ बजेभित्र सार्वजनिक भइसक्ने जानकारी दिनुभएको छ।
रिक्त १८ राष्ट्रियसभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ। तीमध्ये कोशी प्रदेशको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। त्यसपछि मतगणना प्रक्रिया सुरु भई करिब दुई घण्टाभित्र अर्थात् साँझ ५ बजेसम्म नतिजा सार्वजनिक गरिने भण्डारीले बताउनुभयो। उहाँका अनुसार सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।
प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने यस निर्वाचनका लागि कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान भइरहेको छ।
त्यसैगरी गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा (कास्की), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय धनगढी (कैलाली) मा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।