काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।
आयोगका अनुसार फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानअनुसार यो विवरण सार्वजनिक गरिएको हो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ तोकिएको मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारहरूले मनोनयनपत्रसँगै पेस गरेको वैयक्तिक विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम सार्वजनिक गरिएको आयोगले जनाएको छ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक भएकाले कानुनअनुसार सबै उम्मेदवारको विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी सहज रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको थियो। दर्ता भएका उम्मेदवारीमध्ये तीन हजार ८९ जना पुरुष, तीन सय ९६ जना महिला तथा एक जना अन्य समूहबाट रहेका छन्।