काठमाडौँ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ। यसका साथै पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानीपख हुस्सु लाग्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।