शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चुनावी अभियानमा तेह्रथुम पुगे बालेन, मतदातासँग अन्तरक्रिया

शनिबार, माघ १० २०८२

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचार–प्रसारको क्रममा तेह्रथुमको मेयङलुङ पुगेका छन्। मनोनयन दर्तापछि शाह रास्वपाको चुनावी अभियानका लागि पूर्वी नेपालमा सक्रिय रहेका छन्।

शाहले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उक्त क्षेत्रमा उनी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा रहेका छन्। रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेको छ।

झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शाह तेह्रथुम पुगेर मेयङलुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रियामा सहभागी भएका हुन्।

स्थानीयसँगको संवादमा शाहले कुनै पनि जिल्लालाई प्रतिवेदन, किताब वा इन्टरनेटको सूचनामा मात्र सीमित गरेर बुझ्न नसकिने बताए। तेह्रथुमको भूगोल, हावापानी र यहाँको जनजीवन प्रत्यक्ष रूपमा अनुभूति गरेपछि मात्र वास्तविक समस्या पहिचान गर्न सकिने उनको भनाइ थियो।

“तेह्रथुमको नाम कागजमा पढ्न सकिन्छ, विकिपिडियामा पनि भेटिन्छ,” शाहले भने, “तर यहाँ आएर यहीँको माटोमा बसेर, यहीँका मानिससँग संवाद गरेपछि मात्र त्यस ठाउँको वास्तविकता बुझिन्छ। भोलि संसद्मा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिका आधार चाहिन्छ।”

उनले रास्वपाको नेतृत्व इन्जिनियरिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै ठूला र अव्यवहारिक योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने काममा जोड दिनुपर्ने धारणा राखे। तेह्रथुमको कृषि उत्पादन क्षमताको प्रशंसा गर्दै उत्पादन भए पनि बजार व्यवस्थापन कमजोर रहेको समस्या मुख्य चुनौतीका रूपमा औंल्याए।

कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको समेत सहभागिता रहेको थियो। भेटघाटका क्रममा उठेका विषय र सुझावलाई आगामी नीति तथा योजनामा समेट्ने उद्देश्यले आफूहरू जिल्लाजिल्ला पुगेको शाहले बताए।