शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

भारी हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

शनिबार, माघ १० २०८२

बैतडी । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै अवरुद्ध भएका हुन्।

रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। हिमपातका कारण राजमार्गसँगै विद्युत् सेवा पनि बन्द भएको उनले बताए। “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प बनेको छ। पुनः सञ्चालनका लागि पहल थालिएको छ,” उनले बताए ।

यस्तै, डडेल्धुराको साहुखर्क, हगुल्टेललगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि नै बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको छ।

यस वर्ष पहिलो पटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान भने खुसी देखिएका छन्। विगत चार महिनादेखि वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि बाली सप्रिने आशामा किसानहरू उत्साहित भएका छन्।

यद्यपि, हिमपातका कारण अत्यधिक चिसो बढेपछि दैनिक जनजीवन भने प्रभावित भएको छ।