बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसको केन्द्रीय समिति बैठक आज, सभापति थापाले पदभार ग्रहण गर्दै

शुक्रबार, माघ ९ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दै छ । पार्टी कार्यालयका सचिव प्रकाश शर्माद्वारा जारी सूचनाअनुसार माघ ९ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आयोजना गरिएको हो । काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको यो बैठक पहिलोपटक सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरू तथा प्रदेश कार्यसमिति सभापतिहरूलाई बैठकका लागि बोलाइएको छ । विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । आज सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ । पदभार ग्रहणपछि केन्द्रीय कार्यालयमै कार्यसमितिको पहिलो बैठक बस्ने जनाइएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले बैठकबारे जानकारी दिँदै आज दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालय जाने र त्यसपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने बताउनुभयो । उहाँका अनुसार शुक्रबारदेखि पार्टीका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय सानेपाबाट सञ्चालन हुनेछन् ।

नयाँ कार्यसमिति चयन भएयता केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको थिएन । यसअघि कांग्रेसका केन्द्रीय समिति बैठकहरू कुपण्डोल र नयाँ बानेश्वरमा आयोजना हुँदै आएका थिए । विशेष महाधिवेशनपछि नयाँ कार्यसमितिलाई लिएर पार्टीभित्र विवाद देखिएको छ, जुन विषय सर्वोच्च अदालतसम्म पुगेको छ । शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायत नेताहरूले नयाँ कार्यसमितिलाई अवैधानिक ठहर गर्दै अन्तरिम आदेश माग गरे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

विशेष महाधिवेशनपछि केही दिन देउवा पक्षका युवाहरूले केन्द्रीय कार्यालय घेराउ गरे पनि हाल अवस्था सामान्य बनेको छ । देउवा पक्षकै केही नेताहरू सभापति थापाले वितरण गरेको टिकट लिएर निर्वाचन मैदानमा उत्रिएका छन् ।