बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना

शुक्रबार, माघ ९ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजाअर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाले शिक्षा, ज्ञान र सृजनशीलताको महत्त्वलाई उजागर गर्ने उल्लेख गरे । उनले नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मान्ने परम्परा रहिआएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन बालबालिकालाई अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने चलन पनि रहेको बताएका छन् । साथै, सङ्गीतका साधकहरूका लागि सरस्वती साधनाको विशेष दिनका रूपमा वसन्त पञ्चमीलाई लिइँदै आएको उनको भनाइ छ ।

नवीन कार्यको शुभारम्भ गर्न चाहने तथा विवाह, व्रतबन्धजस्ता शुभकार्यका लागि साइत जुराउने परम्परा पनि यही दिनसँग जोडिएको उल्लेख गर्दै उनले वसन्त पञ्चमीलाई सांस्कृतिक र सामाजिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा व्याख्या गरेका छन् ।

राष्ट्रपति पौडेलले वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकतामा सीमित नभई जीवनलाई ऊर्जाशील बनाइराख्ने र नवीन खोज तथा सिर्जनातर्फ प्रेरित गर्ने अवसर भएको बताएका छन् । वसन्त ऋतुको प्रारम्भसँगै दिन लामो र रात छोटो हुँदै जाने प्राकृतिक परिवर्तनले नेपाली जनजीवन र प्रकृतिबीचको निकट सम्बन्धलाई समेत उजागर गर्ने उनको सन्देशमा उल्लेख छ ।

उनले वसन्त पञ्चमीले विद्या, ज्ञान र जीवनप्रति सकारात्मक सोच विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।