बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथि परेका उजुरीको जाँच, बेलुकी नामावली प्रकाशन

बिहिबार, माघ ८ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज जाँचबुझ गरी साँझ ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार उम्मेदवारमाथिको जाँचबुझ प्रक्रिया बुधबार दिउँसो ३ बजेदेखि सुरु भई आज बेलुकी ५ बजेसम्म जारी रहनेछ ।

आजै मनोनयन पत्र तथा उजुरी उपर जाँचबुझ र निर्णय गरी साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको उनले जानकारी दिए।

निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।

शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा यी तीनवटा कार्यक्रम सञ्चालन हुनेछन् ।

निर्वाचन आयोगका अनुसार देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार पुरुष ३,०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना गरी कुल ३,४८७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तीमध्ये चार जिल्लाका पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको सहायक प्रवक्ता जिसीले जानकारी दिए । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट निर्वाचन क्षेत्र नम्बर १ का एक, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का दुई र कैलाली निर्वाचन क्षेत्र नम्बर १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ । ती उजुरीमाथि हाल सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको आयोगले जनाएको छ ।