शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालेनलक्षित ओलीकाे टिप्पणी : ‘धितो न जमानीको मान्छेलाई भोट हालेर मत खेर नफाल्नुस्’

बिहिबार, माघ ८ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीका व्यक्तिलाई मत दिएर आफ्नो अमूल्य मत खेर नफाल्न मतदातालाई आग्रह गरेका छन् ।

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बैंकले समेत धितो र जमानीबिना नोट नछाप्ने उदाहरण दिँदै मत हाल्दा पनि चिनिएको, काम गरेर देखाएको उम्मेदवारलाई मात्रै समर्थन गर्नुपर्ने जिकिर गरे । नचिनेका व्यक्तिलाई २०६४ सालमा मत दिँदा देश विकासमा पछि परेको स्मरण गर्न पनि उनले आग्रह गरे ।

अध्यक्ष ओलीले आफूले महोत्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअगाडि सडक र पुल निर्माण गरिदिएको उल्लेख गर्दै झापामा आएर साहले के योगदान दिनुभएको छ भन्ने प्रश्न गरे । काठमाडौंमा सुकुम्बासीमाथि गरिएको कारबाही देखेर झापाका सुकुम्बासीहरूमा पनि डर पैदा भएको गुनासो आफूले सुनेको उनले बताए ।

उनले हरेक निर्वाचन क्षेत्रमा ‘पर्यटक उम्मेदवार’ नभई स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने धारणा व्यक्त गर्नुभयो । एमाले बहुमत ल्याउन, पद र सत्ताका लागि मात्र नभई देश जोगाउन, शान्ति–सुव्यवस्था कायम गर्न, सुशासन र विकास अघि बढाउन तथा संविधानलाई सही ट्रयाकमा ल्याउन संघर्ष गरिरहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम र गलत सूचनाबाट मुक्त हुन पनि आग्रह गरे । बालेन्द्र साह उम्मेदवार मात्रै बनेको र त्यसले खासै केही नबिग्रिने उनले स्पष्ट पारे ।