काठमाडौँ। अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार डिपोर्ट गरिएका सबै ९० जना नेपाली काठमाडौँ आइपुगिसकेका छन् । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौँ ल्याएर छाडेको उनले जानकारी दिए । महानिर्देशक तिवारीका अनुसार हालसम्म अमेरिकाबाट ४०० भन्दा बढी नेपाली नागरिक डिपोर्ट भइसकेका छन् ।
अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरूमा आवश्यक कागजात नपुगेका, गैरकानुनी रूपमा बसोबास गरेका तथा अध्यागमन कानुन उल्लङ्घन गरेका व्यक्ति रहेका छन् ।
डिपोर्ट भएर आएका व्यक्तिहरूमाथि हाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको विभागले जनाएको छ । यदि कोही मानव बेचबिखनमा परेको पुष्टि भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पूरा भएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने ब्युरोले जनाएको छ ।