बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुस्ताङमा निर्वाचन प्रहरीका ८० प्रतिशत आवेदक जिल्ला बाहिरका

बिहिबार, माघ ८ २०८२

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी माग गरिएको निर्वाचन प्रहरी भर्नामा मुस्ताङमा आवेदन दिनेहरूमध्ये करिब ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद पनि जिल्लाबाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालबीचको संयुक्त कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थप गरिएको थियो । नेपाल प्रहरीका लागि २६६ जना र सशस्त्र प्रहरी बल नेपालका लागि ४६ जना गरी कुल ३१२ जना निर्वाचन प्रहरीको माग गरिएकामा ३२३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए ।

आवेदन दिनेहरू म्याग्दी, बाग्लुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत विभिन्न जिल्लाबाट आएको उनले बताए ।