काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता भई उम्मेदवारको सूचीमा समावेश भएका उम्मेदवारमध्ये योग्यता नपुगेकाविरुद्ध आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी दर्ता गर्न सकिनेछ ।
मंगलबार १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने प्रक्रिया सुरु भइसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दिन सकिनेछ । उजुरी प्राप्त भएमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ अनुसार दर्ता किताबमा अभिलेख गरी अनुसूची १८ बमोजिमको भरपाइ उजुरीकर्तालाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन कार्यक्रमअनुसार उजुरी दर्ता गर्ने म्याद समाप्त भएपछि म्यादभित्र परेका उजुरीहरूको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशन गरिनेछ । प्रकाशित सूचनामा जसको विरुद्ध उजुरी परेको हो, सो उम्मेदवारले तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । सूचना प्रकाशन भएसँगै सम्बन्धित उम्मेदवारले जानकारी पाएको मानिनेछ ।
आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ । माघ ८ गते बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यक्रम छ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।
त्यसैगरी, माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार हालसम्म पुरुष ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी १ गरी कुल ३ हजार ४ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।