शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचन प्रचार फागुन ४ देखि १८ सम्म, आचारसंहिता पालना गर्न आयोगको आग्रह

बुधबार, माघ ७ २०८२

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार अवधि तोकिएको स्मरण गराएका छन् ।

मंगलबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले उम्मेदवार, राजनीतिक दल तथा सरोकारवाला सबैलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरे ।

उनले भने, “फागुन ४ देखि १८ गतेसम्म निर्वाचन प्रचारको समय निर्धारण गरिएको छ । मनोनयनपत्र दर्ता भएपछि केही दिन प्रचार गर्न नपाइने जस्तो लाग्न सक्छ, तर त्यस्तो होइन । निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो अभियानमार्फत मतदातासँग भेटघाट गर्न, राय–सुझाव लिन सकिन्छ ।”

तर, दलगत रूपमा ठूलो आमसभा, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना गर्न नपाइने उनले स्पष्ट पारे । “निर्वाचन आचारसंहिता लागू भइसकेको छ । आचारसंहिता उल्लङ्घन भएको उजुरी परेमा छानबिन गरी निर्णय गर्ने अधिकार आयोगकै क्षेत्राधिकारभित्र पर्छ,” उनले भने ।

यसैबीच, प्रदेशसभा र स्थानीय तहका निर्वाचित प्रतिनिधिहरू पनि प्रतिनिधिसभाको उम्मेदवार बनेकाले उनीहरूको पद रिक्त हुने उल्लेख गर्दै ती रिक्त स्थानमा फागुन २१ गतेपछि निर्वाचन गरिने जानकारी पनि उनले जानकारी दिए।