शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निर्वाचन आयोगद्वारा तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ताको आह्वान

बेलुकी ७ बजेसम्ममा उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन हुने

मंगलबार, माघ ६ २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी तोकिएको समयमा आवश्यक कागजातसहित दर्ता गर्न आह्वान गरेको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले चाहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन पत्र दर्ता गर्नुपर्नेछ। मनोनयन पत्रसँगै आवश्यक फारम पनि भरेर पेश गर्नुपर्नेछ, जसको फाइल आयोगको वेबसाइटमा ‘वर्ड डकुमेन्ट’का रूपमा उपलब्ध छ।

उम्मेदवारले स्वघोषणा पत्र, निर्वाचन आचारसंहितामा उल्लेख प्रतिबद्धता पत्र, व्यक्तिगत विवरण र सम्पत्ति विवरण तयार पारेर मनोनयन पत्रसँगै पेश गर्नुपर्ने आयोगले जानकारी दिएको छ। त्यस्तै, धरौटी बुझाएको रसिद पनि मनोनयन पत्रसँग राखेर पेश गर्नुपर्नेछ। सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आज बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयन पत्र लिएर निर्वाचन कार्यालयमा उपस्थित भएर दर्ता गराउन सक्नेछन्।

आयोगले यसअघि नै उम्मेदवारहरूले नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्रसहित १३ प्रकारका आवश्यक कागजात लिएर आउन आह्वान गरिसकेको छ। आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन हुनेछ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने अवधि तोकिएको छ। त्यसपछि माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुकी ५ बजेसम्म उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरी निर्णय गरिनेछ र सोही दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ र दिउँसो ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।