काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आज भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । दर्ता प्रक्रिया पूरा गरेपछि उनले नेकपा एमाले र आफ्नो चुनावी मुख्य मुद्दा राष्ट्रियता जोगाउने रहेको बताए ।
बस्नेतले उम्मेदवारी दर्तापछि भने, “फागुन २१ को चुनाव होला कि नहोला भन्ने शंका दलहरूमा रहेको थियो। सरकारका गतिविधि र कांग्रेसको विवादले त्यो शंका अझ बढाएको थियो। माघ ६ गतेसम्म आउँदा दर्ता प्रक्रिया पूरा भएको छ।”
उनले एमालेले विगतमा गरेका कामहरूलाई केन्द्रमा राखेर घोषणापत्र तयार पारिएको र मतदातासँग त्यसलाई लिएर जाने उल्लेख गरे।
साथै, बस्नेतले लोकतान्त्रिक र बहुदलीय व्यवस्थालाई जोगाउने विषयमा दृढ रहनु आवश्यक रहेको भन्दै भक्तपुरमा मित्रवत् प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे ।