शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधिसभा निर्वाचन: काठमाडौँका १० क्षेत्रमा यस्ता छन् उम्मेदवारी दर्ता हुने स्थान

मंगलबार, माघ ६ २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।

काठमाडौँ क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय काठमाडौँ महानगरपालिका–३१, नयाँबानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा स्थापना गरिएको छ । क्षेत्र नं २ को कार्यालय कागेश्वरी मनोहरा नगरपालिका–५, थली चौरस्थित नगरपालिका भवनमा रहेको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

त्यसैगरी क्षेत्र नं ३ को कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वडा कार्यालयमा, क्षेत्र नं ४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा र क्षेत्र नं ५ को कार्यालय टोखा नगरपालिका–५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।

क्षेत्र नं ६ को कार्यालय तारकेश्वर नगरपालिका–६, धर्मस्थलीस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र नं ७ को कार्यालय काठमाडौँ महानगरपालिका–१६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र (जुडो हल)मा रहेको छ । क्षेत्र नं ८ को कार्यालय नागार्जुन नगरपालिका–५ स्थित नगरपालिका भवनमा स्थापना गरिएको छ ।

त्यस्तै, क्षेत्र नं ९ को कार्यालय चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बुस्थित नगरपालिका भवनमा र क्षेत्र नं १० को कार्यालय कीर्तिपुर नगरपालिका वडा नं २ बाघभैरवस्थित वडा नं २ को कार्यालयमा स्थापना गरिएको छ ।

काठमाडौँका सबै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि इच्छुक उम्मेदवारको आगमन सुरु भइसकेको छ । सुरक्षालगायत आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोग तथा जिल्ला निर्वाचन अधिकारीको कार्यालय काठमाडौँले जनाएको छ ।

निर्वाचन आयोगको कार्यसूचीअनुसार आज बिहान १०ः०० देखि बेलुकी ५ः०० बजेसम्म काठमाडौँका १० वटै क्षेत्रसहित देशभरका १६५ निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न सक्नेछन् । आजै बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

माघ ७ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । माघ ७ गते दिउँसो ३ः०० बजेदेखि माघ ८ गते बेलुकी ५ः०० बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ । सोही दिन बेलुकी ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि सोही दिन दिउँसो १ः०० देखि ३ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।