काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जनाएको छ ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि तडकभडक नगरी शान्त, मर्यादित र अनुशासित रूपमा निर्वाचन कार्यालयमा उपस्थित हुन सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । भीडभाड कम गर्न र दर्ता प्रक्रिया सहज बनाउन प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि समयसमेत तोकिएको आयोगले जनाएको छ ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीमार्फत ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना सदस्य चयन हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको जनाइएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया सुरु भइसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलले पनि आज बिहानसम्म प्रक्रिया पूरा गर्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेसले केही क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको जनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको बताएको छ । एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले उम्मेदवारलाई आधिकारिक पत्रसमेत वितरण गरिसकेका छन् ।
आयोगले तोकेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।
आयोगले निर्वाचनसम्बन्धी सबै तयारी पूरा भएको बताउँदै आज उत्साहपूर्ण वातावरणमा देशभर उम्मेदवार मनोनयन कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा भएको प्रतिनिधिसभा भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।