काठमाडौँ । मतदाताहरूलाई निर्वाचनसम्बन्धी जिज्ञासा र जानकारी निःशुल्क उपलब्ध गराउने उद्देश्यले निर्वाचन आयोगले आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाताले टोल फ्री नम्बर ११०२ मा सम्पर्क गरी सोध्न सक्नेछन्। ‘कल सेन्टर’मा हाल छवटा डेस्क स्थापना गरिएको छ र आवश्यक परे कामको चापअनुसार डेस्क थप्ने व्यवस्था पनि गरिएको छ।
गण्डकी प्रदेशबाट कल गरेका पहिलो व्यक्तिले लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताबाट प्रभावित हुन्छ कि हुन्न भनी सोध्दा अधिकारीहरूले परीक्षा प्रभावित नहुने जानकारी दिएका थिए।
‘कल सेन्टर’ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आयोगले जनाएको छ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा आवश्यक जानकारी वा जिज्ञासा भए आजदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र प्राप्त नभएसम्म यस कल सेन्टरमार्फत समाधान गर्न सकिनेछ।