मुस्ताङ । पछिल्लो तीन वर्षदेखि हिमाली जिल्ला मुस्ताङमा नियमित हिमपात हुन नसक्दा यहाँका किसान चिन्तित बनेका छन्। गत कात्तिक महिनामा माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ तथा मुस्ताङ–डोल्पा सडकखण्डको साङ्ता गाउँ आसपासमा आंशिक हिमपात भए पनि बेमौसममा परेको उक्त हिउँले किसानलाई खासै लाभ दिन सकेन।
हिउँदयाममा पर्ने हिमपात किसानका लागि वरदान मानिन्छ। अनुकूल समयमा हिउँ परे अन्नबाली सप्रिनुका साथै उत्पादनसमेत बढ्ने गर्छ। तर, यस वर्ष पनि पुस महिना बितिसक्दा समेत हिमपात नहुँदा खेती प्रभावित भएको छ। सामान्यतया हिमाली क्षेत्रमा पुस–माघमा हिमपात हुने मान्यता रहे पनि पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण अनुकूल समयमा समेत हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए।
उनका अनुसार मुस्ताङका अधिकांश खेतीयोग्य जमिन र स्याउ बगैँचामा सिँचाइको सुविधा भए पनि माटोको उर्वराशक्ति वृद्धि गर्न हिउँदयाममा हिमपात अत्यावश्यक हुन्छ। हिउँ परेमा जमिनको भित्री तहसम्म चिस्यान भरिएर पूर्णरूपमा रिचार्ज हुने र यसले स्याउ, उवा, फापर, जौ, मकैलगायतका अन्नबालीको गुणस्तर र उत्पादनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
हिउँ नपर्दा रोक्कीरा र रोगको प्रकोप बढ्ने, जमिनको तापक्रम वृद्धि भई आवश्यक पोषक तत्व नपुग्ने समस्या देखिने गरेको कृषि शाखा प्रमुख थकालीले बताए। “हिउँदयामको हिउँ प्राकृतिक जैविक विषादीजस्तै हो, यसले रोग नियन्त्रणका साथै मलको कामसमेत गर्छ,” उनले भने।
स्थानीय किसानका अनुसार पछिल्ला वर्षहरूमा नदी–खोलाको पानीबाट मात्र सिँचाइ गर्दा अन्नबालीमा रोगको समस्या बढ्दै गएको छ। घरपझोङका किसान अजित थकालीले पुस–माघमा अनिवार्य हिमपात हुनुपर्ने प्राकृतिक चक्र नै बिग्रिएको बताए।
केही वर्षअघिसम्म तल्लोदेखि उपल्लो मुस्ताङसम्म बाक्लो हिमपात हुने, डाँडाकाँडा र बस्तीसमेत दुई फिटभन्दा बढी हिउँले ढाकिने गरेको स्मरण स्थानीयले गरेका छन्। त्यतिबेला स्याउलगायतका अन्नबाली राम्रो उत्पादन हुने र किसानले राम्रो आम्दानी लिन सक्ने अवस्था थियो। तर हाल हिमपातको सट्टा बेमौसमी वर्षा बढ्दै गएको छ।
थासाङ गाउँपालिका–१ टुकुचेका ८४ वर्षीय ङाचा थकालीले पुस–माघमा समेत हिउँ नपरेको २–३ वर्ष भइसकेको बताए। “पहिले हिउँदमा सधैँ हिउँ पर्थ्यो, अहिले त्यो अनुभूति नै हुन छोड्यो,” उनले भने।
हिमपात नहुँदा कृषि मात्र होइन, पर्यटन क्षेत्र पनि प्रभावित भएको मुक्तिनाथस्थित होटल ग्राण्ड साम्वलाका सञ्चालक सुरज गुरुङले बताउनुभयो। अनुकूल समयमा हिउँ परे राष्ट्रिय स्की प्रतियोगितासमेत आयोजना भएको स्मरण गर्दै उहाँले हिमपात भए हिउँ खेल्न र हेर्न पर्यटकको आगमन बढ्ने उल्लेख गरे।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार जलवायु परिवर्तनका कारण हिउँदयाममा जमिनको तापक्रम बढ्दै गएको छ। यसको असरस्वरूप चैत–वैशाखमा मात्र पलाउने स्याउका पालुवा केही बगैँचामा पुसमै पलाउन थालेका छन्। यसले स्याउ खेती क्रमशः माथिल्लो भेगतर्फ सर्न थालेको उनको भनाइ छ।
जलवायु परिवर्तनको प्रभावले मुस्ताङको कृषि, पर्यटन मात्र नभई परम्परागत संस्कृति र संरचनासमेत संकटमा परेका छन्। हिउँको सट्टा वर्षा हुन थालेपछि ढुङ्गा र माटोले बनेका परम्परागत घर चुहिने र भत्किने समस्या बढेको घरपझोङ–५ ठिनीका स्थानीय नीरज थकालीले जानकारी दिए। बेमौसमी वर्षा र सडक पहुँच सहज भएपछि परम्परागत घर भत्काएर कङ्क्रिटका घर बनाउने प्रवृत्ति बढ्दै गएको उनले बताए।
स्थानीयका अनुसार जलवायु परिवर्तनले हिमाली क्षेत्रको धर्म–संस्कृति, जैविक विविधता, कृषि र पर्यटनमा दीर्घकालीन नकारात्मक प्रभाव पार्दै गएको छ।