काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई थप सुदृढ गर्दै आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
सोनाम ल्होसारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।
उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजले बृहत राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन् ।