काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोबाट क्षतिग्रस्त बनेको बिपी राजमार्गको स्थायी पुनर्निर्माण कार्यले तीव्रता पाएको छ। दुई महिनाअघि सुरु गरिएको पुनर्निर्माण कार्य हाल तीन स्थानबाट एकसाथ अघि बढिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीका क्षतिग्रस्त खण्डको पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। कार्यालयका अनुसार हाल तीन खण्डमा निर्माण कार्य तीव्र रूपमा भइरहेको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार बाढीले क्षति पुर्याएको सडकखण्डमा तीन निर्माण व्यवसायी कम्पनी खटिएर काम गरिरहेका छन्। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने भनिएको एक खण्डमा भने थप अध्ययन भइरहेकाले काम सुरु हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। “जाइकाले केही समयमै काम सुरु गर्ने जनाएको छ,” उनले भने ।
गत वर्षको बाढीले क्षति पुर्याएका स्थानमा आरसिसी पर्खाल निर्माण भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल र चारसयबेँसी तथा भकुण्डेबेँसीमा पनि आरसिसी पर्खाल निर्माण सुरु गरिएको छ। यस्तै डालावेँसी, मङ्गलटार खण्ड र चारसयबेँसीदेखि नार्के खण्डसम्म सडक चौडा बनाउने कामसमेत भइरहेको जनाइएको छ।
गत वर्ष र यस वर्षको बाढीले पूर्ण रूपमा बगाएको (‘वासआउट’) स्थानमा अब बाढीबाट क्षति नहुने गरी संरचना डिजाइन गरिएको छ। आगामी वैशाखसम्ममा ती स्थानमा संरचना निर्माण सम्पन्न गरी आगामी वर्षायामदेखि साविककै स्थानबाट यातायात सञ्चालन गर्ने लक्ष्य लिइएको कार्यालयले जनाएको छ।
यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण र सडक चौडा गर्ने काम सम्पन्न गरिने र आगामी वर्ष बाँकी स्थानमा कालोपत्रसहित पुनर्निर्माण कार्य सम्पन्न गरिने योजना रहेको योगेशले बताए। बाढीपहिराले काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा करिब ३० किलोमिटर सडक क्षति पुगेको थियो, जसलाई गत वर्षदेखि अस्थायी रूपमा सञ्चालन गरिएको थियो।
पुनर्निर्माणसँगै बिपी राजमार्गलाई दुई लेनको स्तरोन्नत सडकका रूपमा विकास गरिने भएको छ। “सडकसँगै पुलहरू पनि दुई लेनका बनाइनेछन्,” योगेशले भने। उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा रूपान्तरण गर्न अध्ययन भइरहेको छ।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाखमा ठेक्का पाएको छ। चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको छ। त्यस्तै, नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडकका लागि खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग रु ६१ करोडमा ठेक्का सम्झौता भएको छ।
क्षतिग्रस्त कुल २९.५ किलोमिटरमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक भने जाइकाले निर्माण गरिदिनेछ। यसका लागि जापान सरकारले करिब रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी भइसकेको र ठेक्का प्रक्रियामा रहेको योगेशले जानकारी दिए।
क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले कुल रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ। जसमध्ये काभ्रेपलाञ्चोकतर्फ रु सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि रु एक अर्ब विनियोजन गरिएको हो।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको धुलिखेल–सिन्धुली–बर्दिबास (१६० किमी) बिपी राजमार्ग २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। उक्त राजमार्ग काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा लिइन्छ।