बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालना गर्न सबै राजनीतिक दल प्रतिबद्ध

आइतबार, माघ ४ २०८२

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को तयारीस्वरूप निर्वाचन आचारसंहिता कार्यान्वयन प्रक्रिया अघि बढाउँदै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

निर्वाचनमा सहभागी हुन दर्ता भएका राजनीतिक दलसँग आयोगले निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका विषयमा छलफल आयोजना गरेको थियो। उक्त छलफल कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको हो।

छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले नेपालको संविधान, निर्वाचन आयोग ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ तथा निर्वाचन आचारसंहिता, २०८२ लगायतका प्रचलित निर्वाचन कानुनको इमान्दारितापूर्वक पालना गर्ने बताएका छन्।

त्यसैगरी, निर्वाचनसम्बन्धी कुनै पनि समयमा आयोग, निर्वाचन आचारसंहिता अनुगमन समिति तथा उपसमिति, निर्वाचन अधिकृत र मतदान अधिकृतले बोलाएको खण्डमा उपस्थित हुने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। छलफलका क्रममा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियन्त्रण तथा नियमनमा आयोग सचेत हुनुपर्ने सुझावहरू प्राप्त भएको आयोगले जनाएको छ।

छलफलमा उठेका प्रश्न र जिज्ञासाहरूको जवाफ दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निषेधको राजनीति नगरी कानुनको पालना गर्दै निर्वाचन प्रक्रियामा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरे ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त सगुनशम्शेर जबराले सामाजिक सञ्जाल नियमनका लागि आयोगले ‘सोसियल मिडिया मनिटोरिङ टुल्स’ प्रयोग गर्ने जानकारी दिए।

आयोगले सबै राजनीतिक दलको सहकार्यबाट निर्वाचन आचारसंहिता इमान्दार र सफलतापूर्वक कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेको छ।

यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।