नेपाल कुनै प्रयोगशाला होइन। यो हजारौँ वर्षको इतिहास, संघर्ष र मौलिक पहिचान बोकेको राष्ट्र हो। तर पछिल्ला वर्षहरूमा नेपाली राजनीति हेर्दा यस्तो अनुभूति हुन्छ—मानौँ देश आफ्नै आवश्यकता र चेतनाभन्दा टाढा गएर अरूका सिद्धान्त, प्रयोग र रणनीतिक स्वार्थको परीक्षण केन्द्रजस्तै बन्दै गएको छ। यही अवस्थाले आजको समसामयीक बिषय लेख्न बाध्य बनाएको छ।
राजनीतिक परिवर्तन नेपालका लागि नयाँ कुरा होइन। व्यवस्था फेरियो, संविधान फेरियो, सत्ता फेरियो । तर परिवर्तनसँगै राष्ट्रिय आत्मसम्मान, मौलिक राजनीतिक सोच र ऐतिहासिक चेतनाको संरक्षण कति भयो भन्ने प्रश्न अझै अनुत्तरित छ। समस्या परिवर्तनमा होइन, दिशाहीन परिवर्तनमा छ। जब राजनीति आफ्नै समाज, इतिहास र भूगोलबाट होइन, बाहिरबाट आयातित सोचबाट निर्देशित हुन्छ, तब देश स्वतः कमजोर बन्छ। नेपालको इतिहासलाई हेर्ने दृष्टिकोणमै समस्या देखिन थालेको छ। इतिहासलाई समीक्षा गर्नु आवश्यक हुन्छ, तर अवमूल्यन गरेर होइन। आफ्नै अतीतलाई लज्जाको विषय बनाउँदै भविष्य निर्माण गर्न सकिँदैन।
पृथ्वीनारायण शाहदेखि लोकतान्त्रिक आन्दोलनसम्मका अध्यायहरू कमजोरीसहित पनि हाम्रो सामूहिक पहिचान हुन्। इतिहाससँग विच्छेद होइन, संवाद आवश्यक छ। देश प्रयोगशाला किन बन्यो त? यसको मूल कारण नागरिक चेतनाको कमजोरी हो। जब जनताले प्रश्न गर्न छाड्छन्, तब शक्ति निरंकुश बन्छ। जब मतदाता पार्टीको झण्डामा सीमित हुन्छ, नीतिमा होइन, तब जवाफदेहिता हराउँछ। लोकतन्त्रमा प्रश्न गर्नु अपराध होइन, कर्तव्य हो। तर हाम्रो राजनीतिक संस्कारले आलोचनालाई विरोध र प्रश्नलाई शत्रुता ठान्ने वातावरण निर्माण गरिदिएको छ।
यहाँ शिक्षा प्रणालीको भूमिका पनि गम्भीर रूपमा समीक्षा गर्नुपर्ने अवस्था छ। प्रश्न गर्न सिकाउने शिक्षा नै लोकतन्त्रको मेरुदण्ड हो। तर हाम्रो शिक्षा अझै पनि आज्ञाकारी नागरिक उत्पादनतर्फ बढी केन्द्रित देखिन्छ। यदि शिक्षा र चेतनामा प्रश्नको आगो बल्यो भने त्यो जंगलमा लागेको आगोझैँ लुक्न सक्दैन—त्यसको ताप राजनीति, शासन र नीतिनिर्माणसम्म पुग्छ। आगामी निर्वाचन केवल सत्ता परिवर्तनको औपचारिक प्रक्रिया होइन। यो नेपाली जनताको चेतनाको परीक्षा हो। यसपटक मतदाताले उम्मेदवार र दललाई स्पष्ट प्रश्न गर्नैपर्छ—तपाईंको नीति कति मौलिक छ? तपाईंको प्रतिबद्धता कति इमानदार छ? राष्ट्रिय हित र व्यक्तिगत/दलगत स्वार्थ ठोक्किँदा तपाईं कहाँ उभिनुहुन्छ? यी प्रश्नहरू सोधिनु लोकतन्त्रको सौन्दर्य हो, कमजोरी होइन।
राजनीति सुधारको बाटो नकारात्मक आलोचनाबाट मात्र होइन, सचेत नागरीक सहभागिताबाट खुल्छ। गाली होइन, जवाफ चाहिने समय आएको छ। अनुहार फेर्ने होइन, संस्कार बदल्ने दबाब सिर्जना गर्नुपर्छ। यहा निर हाम्रा देस चलाई रहेका वुद्धीजीवी नागरिक मौन रहिरहँदा गलत अभ्यास संस्थागत भयको हो । नागरिक जाग्दा सत्ता उत्तरदायी बन्छ।दोस नलीन चाहने कथिथ वौद्धीक व्यक्ती र त्यस्को प्रस्न गर्न नसक्ने जनता समस्या को जड हो ।
आज देशभक्तिको परिभाषा फेरिनु आवश्यक छ। देशभक्ति नारामा सीमित हुनुहुँदैन। गलतलाई गलत भन्न सक्ने साहस, सही निर्णयलाई समर्थन गर्ने विवेक र इतिहासलाई सम्मान गर्दै भविष्य निर्माण गर्ने दृष्टि नै आजको साँचो देशभक्ति हो।
नेपाललाई कसैले प्रयोगशाला बनाइराख्न सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर अन्ततः नेपाली जनताकै हातमा छ। प्रश्न गर्ने कि मौन बस्ने? बुझेर निर्णय गर्ने कि भावनामा बग्ने? यही निर्णयले नेपालको राजनीतिलाई प्रयोगशालाबाट स्वाभिमानी राष्ट्रको यात्रातर्फ मोड्न सक्छ। समय अझै सकिएको छैन। तर समय सधैँ पर्खिरहँदैन।
-अरुण राज सुमार्गी
(सामाजिक विश्लेषक तथा समावेशी विकास अभियन्ता)