काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र स्थापित नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी तथा सदस्यसहित आज निर्वाचन आयोग पुगेका खड्काले पार्टीसम्बन्धी कागजात बुझाउँदै विवाद समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।
कार्यवाहक सभापति खड्काले दल विभाजनसम्बन्धी विषयमा निर्वाचन आयोगका विगतका निर्णय र नजिर विपरीत गएर कांग्रेसको आधिकारिकता टुङ्ग्याइए त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।
उनले कांग्रेससम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा आफूहरू आयोगमा आएको जानकारी दिँदै विशेष महाधिवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको विवरणसहितको कागजात कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष बुझाए ।
यस अवसरमा कांग्रेस नेता डा शेखर कोइरालाले लोकतान्त्रिक पद्धतिअनुसार पार्टीको आधिकारिकता निर्धारण हुने विश्वास व्यक्त गरे। सिङ्गो केन्द्रीय समिति उपस्थित भएर आयोगसमक्ष अनुरोध गरिएको जानकारी गराउँदै उनले कुनै आयुक्तले टुँडिखेलमा गएर निर्वाचन कार्यक्रम सुरु गर्दैमा आधिकारिकता नपाउने उदाहरण उल्लेख गरे। सोही आधारमा कांग्रेसको विवादसम्बन्धी आधिकारिकता निर्णय पनि हुने उहाँको विश्वास रहेको बताए ।
दस्तावेज ग्रहण गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग विधि र पद्धतिभित्र रहेर निर्णय गर्ने स्पष्ट पारे। उनले निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनसमेत आग्रह गरे ।