काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।
हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ।