बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माघे सङ्क्रान्तिजस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्छन् : राष्ट्रपति पौडेल

बिहिबार, माघ १ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्तिजस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

माघे सङ्क्रान्ति तथा माघी पर्व २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरूले जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउने उल्लेख गरे। “माघे सङ्क्रान्तिजस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु,” उनको भनाइ छ।

माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्व नेपालका विभिन्न जातजातिले आ–आफ्नै परम्परा र संस्कृतिअनुसार हर्षोल्लासपूर्वक मनाउने गरिन्छ। विशेष गरी थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको छ। यस अवसरमा घ्यू, चाकु, तरुल, तिलको लड्डु, सेलरोटी, ढिक्री र खिचडीजस्ता परिकार खाई परिवारसँग रमाइलो गर्ने चलन रहिआएको छ।

राष्ट्रपति पौडेलले आजको दिन बराहक्षेत्र, देवघाट, रिडी क्षेत्रलगायत देशका विभिन्न पवित्र नदी तथा त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजाअर्चना गर्ने परम्परा रहेको उल्लेख गर्नुभयो। यस्ता पर्वहरू विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रही नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले माघे सङ्क्रान्ति तथा माघी पर्वले संस्कृतिको संरक्षण गर्दै सभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणतर्फ सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।