शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज माघे सङ्क्रान्ति पर्व श्रद्धा र आस्थासाथ मनाइँदै

बिहिबार, माघ १ २०८२

काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। आजदेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ।

उत्तरायण सुरु हुने यस दिन स्नान, जप, तप, ध्यान, साधना तथा दानलाई विशेष पुण्यदायी मानिन्छ। यही मान्यताअनुसार आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ। ती स्थानहरूमा विशेष मेलासमेत आयोजना हुने गर्दछ। तराई क्षेत्रमा माघ १ गतेलाई ‘नहान’ अर्थात् स्नान पर्वका रूपमा मनाउने परम्परा छ।

धार्मिक विश्वासअनुसार बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने मान्यता छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते स्नान, दान, ध्यान नगर्ने तथा घ्यू, चाकु, तिलका परिकार नखाने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

उत्तरायणपछि शुभकार्य गर्न उत्तम मानिने भएकाले आज स्नान, दान, व्रत र ध्यान गर्नेले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकारले जाडोमा शरीरलाई न्यानो राख्ने र त्रिदोष नाश गर्ने आयुर्वेदिक मान्यता रहेको चिकित्सकहरू बताउँछन्।

केही स्थानमा पुसको अन्तिम दिन पकाएर राखिएको तरुल माघमा खाने प्रचलनसमेत छ, जसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ। आज शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने र नाडी, स्नायु तथा हड्डी मजबुत हुने विश्वास पनि छ।

धार्मिक मान्यताअनुसार सूर्य उत्तरायणपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा भीष्मले सूर्य उत्तरायण भएपछि मात्र देहत्याग गरेको प्रसङ्ग उल्लेख गरिन्छ। आज भक्तपुरको तिलमाधव नारायणस्थानमा समेत विशेष मेला लाग्ने गर्दछ।

माघ महिनामा माघमाहात्म्यको पनि विशेष महत्व छ। स्कन्द पुराणअन्तर्गत केदारखण्डको माघ माहात्म्य अनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा चलिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ। व्रत गर्नेहरूले माघ महिनाभर स्नान गरी मध्याह्नकालमा भगवान् शिवको पूजा गर्ने परम्परा छ, जसलाई माघस्नान पनि भनिन्छ।

यसैबीच माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई ध्यानमा राख्दै गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।