कञ्चनपुर । थारु समुदायको महान् पर्व माघीको पहिलो दिन आज कञ्चनपुरसहित थारु बस्तीहरूमा परम्परागत रूपमा ‘जिता मर्ना’ मनाइँदै छ। परम्पराअनुसार माघी पर्व पुस मसान्तका दिनदेखि सुरु हुने गर्दछ।
‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्था गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष चहलपहल देखिएको छ। प्रत्येक गाउँमा बरघर (बघरीया) र भलमन्साको आँगनमा गाउँका सबै सदस्य भेला भई सामूहिक रूपमा सुँगुर काट्ने तथा आ–आफ्नो गच्छे र आवश्यकताअनुसार मासु खरिद गरेर लैजाने परम्परा छ। पछिल्ला वर्षहरूमा केही स्थानमा सुँगुरको सट्टा खसीको मासु प्रयोग गर्ने चलन पनि बढ्दै गएको छ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा चार वटा टोलका लागि चार वटा सुँगुरको व्यवस्था गरिएको बरघर राजु चौधरीले जानकारी दिए । “एउटै सुँगुरले नपुग्ने भएकाले प्रत्येक टोलका लागि एक–एक वटा सुँगुरको व्यवस्था गरी माघी पर्वका लागि मासुको जोहो गरिएको छ,” उनले भने ।
वर्षकै सबैभन्दा ठूलो पर्व भएकाले यस अवसरमा परिवार, आफन्त र पाहुनालाई पेटभर मासु खुवाउने परम्परा रहेको चौधरीले बताए । “पाहुना लाग्न आएका सबैलाई सम्मानपूर्वक मासु खुवाएर बिदा गरिन्छ,” उनले भने।
जिता मर्नाको रातिदेखि थारु समुदायमा ढुमरु गीत गाउने, डफ तथा मादल बजाउने र छोकरा तथा झुमरा नाच नाच्ने परम्परा रहँदै आएको छ। पिपलाडीका ७० वर्षीय कल्लु चौधरीका अनुसार रातभर डफमा गीत गाएर युवापुस्तालाई थारु संस्कृति र परम्पराबारे जानकारी गराउने तयारी गरिएको छ। यसका लागि ज्येष्ठ नागरिकहरू मिलेर ‘सम्धी समूह’ गठन गरिएको उनले बताए ।
यस अवसरमा महिलाहरूले चामलको पिठोबाट ढिक्री बनाउने, तिलको लड्डु, मुरही, रोटी, खरिया तयार गर्नुका साथै सखरखण्डी, तरुल, भण्टा, केराको तरुवा, अण्डी धानको उसिनेको भात र खिचडीजस्ता मौलिक परिकार पनि पकाउने गर्छन्।
थारु समुदायमा माघ महिना लागेपछि सुँगुरलगायत जनावरको बध गर्न नहुने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको स्थानीय थारु बुद्धिजीवी धनबहादुर कुश्मीले बताए। उनका अनुसार माघ लागेपछि रगत देखिनु हुँदैन भन्ने जनविश्वासका कारण पुसको अन्तिम दिन मात्रै जनावर बध गर्ने परम्परा चलिआएको हो।
थारु समुदायले प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाउने माघी पर्व केवल चाड मात्र नभई नयाँ वर्षको सुरुआत, सामाजिक एकता, आत्मसम्मान र पहिचानको प्रतीकका रूपमा लिने गर्दछ। विशेषगरी कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थारु समुदायमा माघी पर्व अत्यन्त महत्वका साथ मनाइन्छ।
माघीलाई थारु समुदायले ‘नयाँ वर्ष’ का रूपमा मनाउँदै पुरानो वर्षका दुःख–पीडा बिर्सेर नयाँ आशा, नयाँ सङ्कल्प र नयाँ जीवनशैलीको सुरुआत गर्ने अवसरका रूपमा लिने परम्परा रहँदै आएको छ।