शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काँग्रेस विशेष महाधिवेशन : सहमतिको सम्भावना कमजोर बन्दै गएपछि मनोनयन दर्ता पुन: शुरू

बुधबार, पुष ३० २०८२

काठमाडौँ ।  नेपाली काँग्रेसको विशेष महाधिवेशन आज पनि जारी छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान गरिएको विशेष महाधिवेशनमा आज पार्टी नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ। निर्वाचन बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ।

संस्थापन पक्षले भने महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै विरोध गर्दै आएको छ। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच रातभर विभिन्न चरणमा भएका वार्ता निष्कर्षविहीन भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्। यद्यपि दुवै पक्षबीच संवाद भने अहिले पनि जारी रहेको जनाइएको छ।

निर्वाचन समितिले यसअघि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका परिमार्जन गर्दै प्रक्रिया अघि बढाएको हो। प्रारम्भिक तालिकाअनुसार मनोनयन दर्ताको समय मंगलबार नै सकिएको थियो। तर कार्यतालिका संशोधन गरी आज बिहानदेखि पुनः मनोनयन दर्ता सुरु गरिएको छ।

रातभर भएका वार्ताका क्रममा सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने निर्णयमा विशेष महाधिवेशन पक्षधर पुगेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ।

आज बिहान पनि दुई पक्षबीच वार्ता जारी रहेको छ। वार्तामा सहभागी एक नेताका अनुसार सहमतिको सम्भावना कमजोर बन्दै गएको छ।

यसैबीच विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको जनाइएको छ। वार्ता निरन्तर चलिरहेकाले मनोनयन दर्ताको समय थपिन सक्ने निर्वाचन समितिले जनाएको छ।

तर विशेष महाधिवेशन पक्षधरहरूले भने बहुमत महाधिवेशन प्रतिनिधिहरूको मागका आधारमा विशेष महाधिवेशन गरिएको दाबी गर्दै यसलाई पूर्ण रूपमा वैधानिक रहेको बताएका छन्।