काठमाडौँ । सिन्धुलीको घ्याङ्लेखमा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। मंगलबार साँझ करिब ६ जनाको नकावधारी समूहले बैंक लुटी ३ करोड १० लाख ९५ हजार रुपैयाँ लिएर फरार भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटेराहरूले बैंकका सुरक्षागार्डमाथि कुटपिट गरी सेफमा रहेको रकम लुटेका थिए। घटनालगत्तै प्रहरीले व्यापक खोजतलास सुरु गरेको थियो।
खोजतलासका क्रममा बैंक नजिकैको जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै लुटेराहरू प्रयोग गरेको टाटा सुमो र उक्त गाडीका चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चालक बनेपाका हुन् र लुटपाटमा संलग्न सबै व्यक्ति पनि बनेपाबाटै आएको खुलेको छ।
घटनामा संलग्न फरार लुटेराहरूको तीव्र खोजतलास तथा घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान कार्य भइरहेको सिन्धुली प्रहरीले बताएको छ ।