काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार बिहान भेटवार्ता गरिरहेका छन्। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच गठित वार्ता टोलीहरूबीच सहमति हुन नसकेपछि सभापति देउवासँग महामन्त्रीद्वयको प्रत्यक्ष छलफल सुरु भएको हो।
यसअघि दुवै पक्षका वार्ता टोलीबीच भएका छलफलहरू कुनै निष्कर्षमा नपुगी टुंगिएका थिए। पछिल्लो अवस्थाबारे थप छलफल गर्न सभापति देउवाले नै महामन्त्रीद्वयलाई बोलाएको देउवा निकट एक नेताले बताएका छन्।
यसैबीच नेपाली कांग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको केन्द्रीय समितिको निर्णयविरुद्ध नजान कडा चेतावनी दिएको छ। पार्टीभित्र जारी विवाद समाधानका लागि उच्च तहमा संवाद तीव्र बनाइए पनि सहमति जुट्न सकेको छैन।
पार्टी एकता, विशेष महाधिवेशन र आगामी निर्वाचनलाई लिएर निर्णायक मोडमा पुगेको कांग्रेसभित्रको आन्तरिक छलफलले अब कुन दिशा लिन्छ भन्ने विषयलाई सबैले चासोका साथ हेरिरहेका छन्।