शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

थारू समुदायमा युवा पुस्ताले संस्कृति संरक्षणमा अग्रसरता देखाए

मंगलबार, पुष २९ २०८२

दाङ। थारू जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको सक्रियता बढ्दै गएको छ। जिल्लामा हुने मेलामा थारू नृत्य र सांस्कृतिक कार्यक्रममा युवा पुस्ताले बढी सहभागिता जनाइरहेका छन्।

घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी आफ्नै मौलिक पोसाकमा माघ सांस्कृतिक कार्यक्रममा सहभागी भई संस्कृति संरक्षणमा आफ्नो भूमिका निर्वाह गर्दै आएकी छन्। उनका अनुसार पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाउनु मात्र नभई नयाँ पुस्ताको पनि दायित्व रहेको छ।

चौधरीले बड्का नाच, छोक्रा नाच, सख्या नाच जस्ता थारू नृत्य सिक्दै सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्दा आत्मविश्वास बढेको बताए। त्यस्तै, थारू महिलाहरूले परापूर्वकालदेखि चाडपर्वमा लगाउने लहङ्गा, घुर्या, कर्या, सुत्या आदि पहिरनमा सजिन पनि उनलाई मनपर्ने गरेको छ।

घोराही–१४ का आशा चौधरीले विद्यालय, सभा र सांस्कृतिक कार्यक्रममा समूह बनाएर नाचगानमा सहभागिता जनाउँदै आएको बताइन्। यसरी नयाँ पुस्ताले आफ्ना सिकेका तथा सिक्न बाँकी नृत्य प्रस्तुत गर्दा कला र संस्कृतिबारे थप ज्ञान प्राप्त हुने साथै आर्थिक आम्दानीसमेत हुने अनुभव भएको उनले उल्लेख गरिन् ।

थारू बस्ती भएका गाउँहरूमा युवा–युवतीहरू आफ्नो वेशभूषा र परिधानमा सजिएर कार्यक्रममा सहभागी हुने क्रम बढेको छ। घोराही उपमहानगरपालिका–७ का पर्सा विकास चौधरीका अनुसार आधुनिकता र बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको संरक्षणमा युवा पुस्ताको अग्रसरताले महत्वपूर्ण योगदान दिनेछ।

थारू संस्कृतिमा मघौटा, बड्का, झुम्रा, छोक्रा नाच र सखिया गीतजस्ता परम्परागत कला समेटिएका छन्। चौधरीले नयाँ पुस्तालाई थारू कला र संस्कृतिको प्रशिक्षण दिने व्यवस्था आवश्यक रहेको र संरक्षणका लागि प्रदेश तथा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताइन् ।

यसरी युवा पुस्ताको सक्रियताले थारू समुदायको मौलिक कला र संस्कृति जोगाउने र प्रवद्र्धन गर्ने कामलाई थप बल दिने विश्वास व्यक्त गरिएको छ।