शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस विशेष महाधिवेशन : केन्द्रीय समिति विघटनदेखि नेतृत्व परिवर्तनसम्म प्रस्ताव

निर्णय पर्खिँदै संस्थापन

मंगलबार, पुष २९ २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष हाल ‘दोस्रो विशेष महाधिवेशन’ले गर्ने निर्णयका आधारमा आगामी कदम चाल्ने मनस्थितिमा देखिएको छ। सभापति शेरबहादुर देउवाले सोमबार महाराजगञ्जस्थित अस्थायी निवासमा बोलाएको छलफलमा सहभागी नेताहरूको अभिव्यक्तिबाट संस्थापन पक्ष ‘पर्ख र हेर’को रणनीतिमा रहेको बुझिन्छ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्दसत्रले देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णयसहित कार्यविधि पारित गरिसकेको छ। कार्यविधिमा १४औँ महाधिवेशन (२०७८ मंसिर २४–२८) बाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले समितिलाई विघटन गरी १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने उल्लेख छ।

नयाँ केन्द्रीय समिति निर्वाचनका लागि एक संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव कार्यविधिमा समेटिएको छ। साथै, विगतमा केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिबाट भएका निर्णयहरूको पुनरावलोकन, आवश्यक परे निष्क्रिय वा खारेज गर्ने व्यवस्था पनि गरिएको छ। १४औँ महाधिवेशनपछि गठन भएका केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समिति समेत विघटन गरिने उल्लेख छ।

आत्मालोचना र सुधारको प्रतिबद्धता

विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाले पेस गरेको समसामयिक राजनीतिक प्रतिवेदनमा कांग्रेसले विगतमा गरेका गल्तीप्रति आत्मालोचना गर्दै क्षमायाचना गरेको छ। प्रतिवेदनमा सुशासन, सेवा प्रवाह, मानव अधिकार उल्लङ्घनका घटनामा स्वतन्त्र छानबिन, क्षेत्रीय शक्ति असन्तुलन र ‘जेन–जी’को असन्तुष्टिलाई विशेष रूपमा उठाइएको छ।

भ्रष्टाचारविरुद्ध आठ संकल्प

महामन्त्री थापाले भ्रष्टाचार नै राज्यप्रति नागरिकको निराशाको मुख्य कारण भएको ठहर गर्दै त्यसविरुद्ध आठ बुँदे संकल्प अघि सारेका छन्। भ्रष्टाचारको आरोप लागेका नेता तथा सदस्य स्वतः निलम्बन हुने प्रस्तावसमेत प्रतिवेदनमा समावेश छ।

दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नबन्ने व्यवस्था

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था लागू गर्न पार्टी विधान र संविधान संशोधनसम्म पहल गर्ने प्रतिबद्धता जनाएका छन्। यसले नेतृत्वमा निरन्तरता होइन, परिवर्तन र जवाफदेहितालाई प्राथमिकता दिने सन्देश दिएको छ।

विधान संशोधन र संरचनागत परिवर्तन

विशेष महाधिवेशनबाट विधान संशोधनको प्रस्ताव पनि अघि बढाइएको छ। प्रस्तावअनुसार पार्टी संरचनामा युवाको सहभागिता बढाउने, सहमहामन्त्रीको संख्या बढाउने, केन्द्रीय कार्यसमितिलाई ३०१ सदस्यीय बनाउने र महासमितिमा युवा तथा पेसागत क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

पपुलिजम र अराजकतावादप्रति चेतावनी

महामन्त्री थापाले लोकतन्त्र चमत्कारबाट होइन, प्रणाली र प्रक्रियाबाट मजबुत हुने भन्दै पपुलिस्ट र अराजकतावादी प्रवृत्तिबाट सचेत रहन आग्रह गरेका छन् ।

विशेष महाधिवेशनका यी निर्णयहरूले कांग्रेसभित्र शक्ति सन्तुलन र नेतृत्वको भविष्यबारे निर्णायक मोड ल्याउने संकेत देखिएको छ।

निर्णय कुर्दै देउवा

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का तत्कालै कारबाहीको कदम चाल्ने पक्षमा देखिएका छैनन्। संस्थापन पक्षले वार्ता गर्न समिति नै बनाएकाे छ ।

खड्कानिकट स्रोतका अनुसार, “पहिले नै कारबाही गर्दैनन्, यो कन्फर्म छ। बन्दसत्रबाट के निर्णय हुन्छ, त्यसैको आधारमा अघि बढ्ने तयारी भएको छ।” यही धारणा सभापति देउवासँग महाराजगञ्जमा भएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले पनि दोहोर्‍याएका छन्। उनका अनुसार, “महाधिवेशन भनिएको भेलाले जस्तो निर्णय गर्छ, त्यसैअनुसार अघि बढ्ने सहमति जस्तै देखिन्छ।”

यसबाट संस्थापन पक्षले तत्काल कठोर कदम चाल्नुको सट्टा विशेष महाधिवेशनको बन्दसत्रबाट आउने निर्णयलाई आधार बनाएर आगामी रणनीति तय गर्ने संकेत स्पष्ट देखिएको छ।