काठमाडौँ । नेपाली कांग्रेसमा ७० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पुर्याउने लक्ष्यसहित सञ्चालन भइरहेको विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले आज वार्ता गर्ने भएको छ। तर वार्ताको समय र स्थान भने सार्वजनिक गरिएको छैन।
वार्ताका लागि संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी दिइएको छ। विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुनेछन्।
विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरूलाई भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरे पनि उनीहरू उपस्थित भएनन्। सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थहरूमार्फत् दिँदै आएको बताइन्छ।
तर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संख्या बढ्दै गएपछि सभापति देउवा दबाबमा परेको अवस्था देखिएको छ। आजको बन्दसत्रपछि नैतिक रूपमा पनि नेतृत्व छाड्नुपर्ने दबाब थप चर्किने संकेत देखिएको छ।