शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस विशेष महाधिवेशनद्वारा देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय

सोमबार, पुष २८ २०८२

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ।

विशेष महाधिवेशनले पारित गरेको कार्यविधिअनुसार चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले उक्त कार्यसमिति विघटन गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गरिएको छ।

नेपाली कांग्रेसको २०७८ साल मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न चौधौँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो। त्यसपछि मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो।

यसैबीच, कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गर्ने भएका छन्। भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय महाधिवेशन प्रतिनिधि खड्कालाई दिने निर्णय भएको विशेष महाधिवेशन प्रचारप्रसार समिति संयोजक सुवास पोखरेलले जानकारी दिए।

आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।

चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।