शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको आन्तरिक द्वन्द्व : संकटको किनारमा लोकतान्त्रिक शक्ति

सोमबार, पुष २८ २०८२

काठमाडौं ।  नेपालको लोकतान्त्रिक आन्दोलनको मियो शक्ति मानिँदै आएको नेपाली कांग्रेस आज इतिहासकै सबैभन्दा गम्भीर संकटको मोडमा उभिएको छ । २००७ सालको जनक्रान्तिपछि लोकतन्त्रको संवाहक बनेको कांग्रेस सधैं बाह्य हस्तक्षेप र आन्तरिक कमजोरीबीच जुध्दै आएको देखिन्छ ।

सत्ताको स्वार्थलाई सिद्धान्तभन्दा माथि राख्ने प्रवृत्तिले कांग्रेसले कहिल्यै स्थायित्वको सास फेर्न पाएन । २०४८ सालको आमनिर्वाचनमा पार्टीका आदर्श नेता कृष्णप्रसाद भट्टराई पराजित भएपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्रैको असन्तुलनको सामना गर्नुपर्‍यो ।

सन्त नेताका रूपमा चिनिएका किशुनजीलाई उपनिर्वाचनमा पराजित गराउने कार्यमा गिरिजा निकट केही शक्तिहरू सक्रिय हुनु कांग्रेसभित्रको असहिष्णु राजनीतिक संस्कृतिको उदाहरण बनेको थियो । धेरै विश्लेषकका दृष्टिमा कांग्रेस कमजोर बनाउने यात्रा त्यहीँबाट संस्थागत रूपमा सुरु भयो ।

गिरिजाप्रसाद कोइरालाले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरे पनि पार्टीभित्रकै बेमेलका कारण त्यो असफल भयो । त्यसपछि पार्टी विभाजनतर्फ उन्मुख अवस्थालाई किशुनजीले ‘विष पिएर’ रोकेको इतिहास साक्षी छ । आज, ठीक त्यही ऐतिहासिक सन्दर्भ स्मरण गराउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि कांग्रेसलाई फुट्न नदिने दाबी गरिरहेका छन् । तर परिस्थितिले देखाइरहेको यथार्थ भने निकै चिन्ताजनक छ ।

नेपाली कांग्रेस अहिले लोकतान्त्रिक अभ्यासपछिको कालखण्डमै सबैभन्दा गहिरो संकटमा फसेको छ । पुस २७ र २८ गते पार्टीका दुई महामन्त्री नेतृत्वको पक्षले विशेष महाधिवेशन आयोजना गरेको छ । एकातिर सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र अर्कातिर महामन्त्रीद्वय नेतृत्वको संस्थापन इतर पक्ष—यी दुईबीचको दूरी अब सैद्धान्तिक होइन, पूर्णतः अहंकार र शक्ति संघर्षमा परिणत भएको छ । दुवै पक्ष आफ्नो अडानलाई अन्तिम सत्य ठानिरहेका छन् ।

गत भदौमा देखिएको अप्रत्याशित राजनीतिक क्षणको घाउ अझै निको भइसकेको छैन । तर पार्टी नेतृत्व फेरि नयाँ घाउ थप्ने दिशामा उन्मुख देखिन्छ । जब अन्य दलहरू फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर रणनीति निर्माणमा जुटिरहेका छन्, नेपाली कांग्रेस भने आन्तरिक खिचातानीमै अल्झिएको छ । घोषणापत्र, संगठन परिचालन, कार्यकर्ता तयारी—कुनै पनि तहमा कांग्रेसको चुनावी तयारी देखिँदैन ।

संस्थापन इतर पक्षले संस्थापन पक्षमाथि निष्क्रियताको आरोप लगाइरहेको छ । चुनावी तयारी शून्य रहेको, कार्यकर्तालाई दिशा नदिइएको र पार्टी नेतृत्व जिम्मेवारीबाट भागिरहेको आरोपहरूले कांग्रेसको आन्तरिक अवस्था छर्लंग पारेका छन् । आज कांग्रेस यति गहिरो मनोवैज्ञानिक विभाजनमा पुगेको छ कि इतिहासमा यसको उदाहरण विरलै भेटिन्छ ।

पहिले कांग्रेसभित्र मतभेद विचारको भिन्नतामा सीमित हुन्थ्यो । पार्टी सानो हुँदा दुई व्यक्तिको असहमति पार्टी विभाजन होइन, व्यक्तिगत अलगावमा सीमित हुन्थ्यो । तर आज परिस्थिति उल्टिएको छ । पार्टी ठूलो छ, तर संकटको घडीमा संगठनात्मक एकता कमजोर देखिन्छ । प्रजातान्त्रिक खुलापनपछि जो पनि अटाउने अवस्थाले पार्टीलाई संख्यात्मक रूपमा ठूलो बनाए पनि वैचारिक रूपमा खुकुलो बनाएको यथार्थ अस्वीकार गर्न सकिँदैन ।

ध्रुवीकरणको बीचमा शेखरको शान्त आवाज

वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको विभाजन नहोस् भन्ने सन्देश अघि सारेका छन्। विशेष महाधिवेशन उद्घाटनको संघारमा आइतबार जारी गरेको भिडिओ सन्देशमा उनले स्पष्ट पार्दै भने, “म कांग्रेसको रूपान्तरण अभियानमा व्यक्तिगत महत्त्वाकाङ्क्षा वा पदको लोभले होइन, पार्टीको एकतालाई प्राथमिकता दिन सक्रिय छु।”

डा. कोइरालाले आफ्नो जीवन दर्शन र परिवारबाट प्राप्त मूल्यहरू नै आफ्नो राजनीतिक मार्गदर्शनको आधार भएको बताए। उनले भने, “मेरो निजी महत्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री हुने लोभले कहिल्यै आकर्षित गरेन। मेरो एकमात्र लक्ष्य भनेको कांग्रेस एकताबद्ध रहोस् भन्ने हो।”

उनले पार्टीभित्रको वर्तमान द्वन्द्व र चुनौतीलाई समेत स्वीकारे। “मलाई सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग समायोजन गर्नु परेको छ भने अर्कोतिर जोसिला युवाहरूको असन्तोषसँग पनि सामना गर्नु परेको छ। मेरो उद्देश्य भनेको शान्त र समन्वित तरिकाले पार्टी एकता कायम राख्नु हो।”

डा. कोइरालाले विशेष महाधिवेशनमा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमा राखिसकेको बताए। उनले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहरको रूपमा मानेर, विधान कार्यान्वयन र नीतिगत सान्दर्भिकता स्थापित गर्ने अभियानमा सहभागी हुन आग्रह गरे।

“हामीले सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गर्नुपर्छ। यसमा हाम्रो समर्थक, शुभचिन्तक र अन्तर्राष्ट्रिय समुदायले पनि हामी एकजुट भएको देख्न पाउनुपर्छ,” डा. कोइरालाले भने।

उनले जारी संघर्षलाई ऐतिहासिक जिम्मेवारीको रूपमा लिएर भगीरथ प्रयास गरिरहेको स्पष्ट पारे। “जबसम्म पार्टीमा निकास निस्कँदैन, म निरन्तर लागिरहने छु,” उनले प्रतिबद्धता व्यक्त गरे।

विश्लेषकहरूको दृष्टिमा डा. कोइरालाको यो शान्त र समन्वयकारी पहलले पार्टीभित्रको ध्रुवीकरणलाई कम गर्न सक्ने सम्भावना राख्छ। यसले युवा नेतृत्व र संस्थापन पक्षबीचको दूरी घटाउन तथा आगामी महाधिवेशनलाई एकता र सहकार्यको रूपमा परिणत गर्न योगदान पुर्‍याउन सक्छ।

सानेपा र भृकुटीमण्डपमा देखिएको विभाजन

लामो समयदेखि कांग्रेसभित्र संस्थापन र संस्थापन इतर पक्षबीच ६०–४० को भागबण्डा राजनीतिक संस्कृतिको रूपमा रहँदै आएको थियो । तर अहिले त्यो विवाद सडकमै छताछुल्ल भएको छ । सानेपा र भृकुटीमण्डपमा देखिएको विभाजनले कांग्रेसका शुभेच्छुकहरूलाई गहिरो निराशामा डुबाएको छ ।

यो संघर्ष सैद्धान्तिक होइन, नेताहरूबीचको प्रतिष्ठा र अहंकारको टकराव हो भन्ने आरोप व्यापक छ । पदाधिकारी संख्याका हिसाबले संस्थापन पक्ष बलियो देखिए पनि महाधिवेशन प्रतिनिधिहरूको दाबीका आधारमा विशेष महाधिवेशन पक्ष पनि कमजोर छैन । ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर दाबीलाई पार्टीले बेवास्ता गरेकाले आजको संकट उत्पन्न भएको विश्लेषकहरूको निष्कर्ष छ ।

इतिहासलाई हेर्ने हाे भने कांग्रेस फुट्दा फुट्नेहरू सफल भएका छैनन् । विगतमा पनि पार्टी फुट्यो, फेरि जुट्यो । वर्तमान सभापति देउवाले नै एक समय नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गर्दै पुनः एकीकरण गरेका थिए । तर अहिलेको अवस्था झन् जटिल र संवेदनशील छ । विशेष महाधिवेशनमार्फत पदाधिकारी चयन गरिए पार्टी स्वतः विभाजनको बाटोमा जान सक्छ भन्ने चेतावनीहरू गम्भीर छन् ।

आज सबैको चिन्ता एउटै हो—नेपाली कांग्रेस फुट्ने हो कि भन्ने । पार्टी कार्यालयमै अवरोध, कार्यकर्ताबीच तनाव र सम्भावित भिडन्तको आशंका लोकतान्त्रिक संस्कृतिका लागि खतरनाक संकेत हुन् ।

यसैले आजको घडीमा कांग्रेस नेतृत्वले जुँगाको लडाइँ होइन, इतिहासको जिम्मेवारी सम्झनु आवश्यक छ । विशेष महाधिवेशनभन्दा ठूलो प्रश्न पार्टीको एकता, लोकतान्त्रिक मूल्य र आसन्न निर्वाचनमा जनताको भरोसा पुनःस्थापना गर्नु हो ।