शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सबैभन्दा माथि देश हुनुपर्छ : सञ्चारमन्त्री खरेल

सोमबार, पुष २८ २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई अघि बढाउन जात, धर्म र क्षेत्रीयताभन्दा माथि उठेर राष्ट्रको हितमा सोच्न आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा नेवाः साधना कला केन्द्रद्वारा आयोजित ‘ज्ञानु राणा एकल साँझ–२०८२’ कार्यक्रममा बोल्दै मन्त्री खरेलले देशमा युवापुस्ताले खोजिरहेको परिवर्तनको आवाजलाई सम्बोधन गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जेनजी पुस्ताको बलिदान र नेपाल आमालाई मनमा राखेर मतदान गर्न आग्रह गरे ।

“हामी सबै नेपालीका लागि यो ऐतिहासिक अवसर हो। हामीले माग गर्दै आएको परिवर्तन हाम्रै मतदानमार्फत सम्भव छ। यो मतदान परिवर्तनका लागि हो, त्यसैले पाएको अवसरको पूर्ण सदुपयोग गर्नुपर्छ,” मन्त्री खरेलले भने ।

मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलनपछि बनेको सरकारले परिवर्तनको पक्षमा काम गरिरहेको उल्लेख गरे। कार्यक्रममा उनले ७६ वर्षीया वरिष्ठ गायिका ज्ञानु राणाको स्वरको प्रशंसा गर्दै देशले जीवित इतिहास पाएको टिप्पणी गरे ।

“मैले सुनेको स्वरमा जादु छ। ७६ वर्षको उमेरमा पनि यस्तो स्वर हुनु पछाडि गहिरो साधना लुकेको छ। म पहिलेदेखि नै आदरणीय गायिका राणाको स्वरको प्रशंसक हुँ, आज प्रत्यक्ष सुन्न पाउँदा निकै खुसी लाग्यो,” उनले भने

मन्त्री खरेलले नेपाली गीतसङ्गीतको क्षेत्रमा गायिका ज्ञानु राणाले पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको समेत स्मरण गरेका थिए ।