शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मिल्ने भए जसपा र लोसपा, भयाे १२ बुँदे एकीकरण सहमति

सोमबार, पुष २८ २०८२

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच आइतबार एकीकरणसम्बन्धी १२ बुँदे सहमति भएको छ।

यसअघि गत पुस १३ गते दुवै पार्टीबीच एकीकरण गर्ने सहमति सहित संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो। सोही विज्ञप्तिलाई आधार मानी एकीकरण प्रक्रिया अघि बढाउने सहमति भएको दुवै दलले जानकारी दिएका छन्।

सहमतिको दोस्रो बुँदाअनुसार जसपा र लोसपा एकीकरण भई पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ। पार्टीको चुनाव चिह्न छाता रहने छ। पार्टीको झण्डामा माथिल्लो भाग रातो, बीचमा सेतो र तल्लो भाग हरियो रङ रहने तथा बीचमा ढल्केको छाता रहने उल्लेख गरिएको छ।

पाँचौँ बुँदामा एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिने निर्णय भएको छ। सो समितिले आफूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति भएको छ। छैठौँ बुँदामा दुवै पार्टीका केन्द्रीय समिति समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहने व्यवस्था गरिएको छ।

दुवै पार्टी मातहतका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग र संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार सञ्चालन हुने सहमति भएको छ। आठौँ बुँदामा संगठनात्मक समायोजन नहुन्जेलसम्म आ–आफ्नो स्थान र कार्यक्षेत्रमा पार्टीको मातहत रही क्रियाशील रहने उल्लेख गरिएको छ।

साथै, २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्रमा केन्द्रीय समन्वय समितिको निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा हस्ताक्षर गर्ने सहमति गरिएको छ। एकीकरणसम्बन्धी थप प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा प्रचलित कानुनअनुसार अघि बढाइने उल्लेख छ। केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणीकरण गरिने सहमतिमा जनाइएको छ।